काठमाडौँ,२८ मङ्सिर २०८२
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। पार्टीका अनुसार बन्दसत्र बिहान साढे ७ बजेदेखि सञ्चालन हुनेछ।
शनिबार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन सम्पन्न गरेपछि एमाले आजबाट औपचारिक रूपमा नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो।
बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ। देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधि बन्दसत्रमा सहभागी छन्।
महाधिवेशनबाट एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिने पार्टीले जनाएको छ।
एमालेको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना र रणनीति तय गर्ने यस बन्दसत्रलाई चासोका साथ हेरिएको छ।
0 Comments