काठमाडौँ, १५ पुस २०८२
काठमाडौँ उपत्यकाका तीन जिल्ला—काठमाडौँ, ललितपुर र भक्तपुरमा हाल दुई प्रकारका ट्याक्सी सञ्चालनमा छन् । विद्युतबाट चल्ने ईभी ट्याक्सी र पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सी । दुवै प्रकारका ट्याक्सीले यात्रुलाई सेवा दिइरहे पनि व्यवसायीका लागि कुन ट्याक्सी आर्थिक रूपमा बढी लाभदायक छ भन्ने विषयमा तीन वर्षे आम्दानी–खर्चको आधारमा गरिएको विश्लेषण यहाँ प्रस्तुत गरिएको छ ।
हाल उपत्यकामा ईभी ट्याक्सी तर्फ टाटा ‘एक्सप्रेस–टी’ र ‘ईभी ईजी’ मोडेलका ट्याक्सीहरू बिक्री–वितरण भइरहेका छन् । पेट्रोलियम ट्याक्सीमा भने मुख्य रूपमा सुजुकी र हुन्डाई कम्पनीका ट्याक्सीहरू प्रयोगमा छन् भने सीमित संख्यामा टाटा र केलिसा ब्रान्डका ट्याक्सी पनि सञ्चालनमा रहेका छन् ।
पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको तीन वर्षे अवस्था
पेट्रोलियम ट्याक्सीको हकमा हाल नयाँ दर्ता नभए पनि केही वर्ष चलिसकेका ट्याक्सीहरू किनबेच भइरहेका छन् । बजार अवस्थालाई आधार मान्दा यस्ता ट्याक्सीहरू करिब रु. २६ लाखमा कारोबार भइरहेको देखिन्छ । ट्याक्सी चालकहरूका अनुसार यस्ता ट्याक्सीबाट दैनिक औसत रु. ४,००० आम्दानी हुने गरेको छ ।
दैनिक खर्चतर्फ हेर्दा, चालकहरूले खाना तथा खाजामा करिब रु. ५००, इन्धन (पेट्रोल)मा रु. १,००० र मर्मतका लागि रु. ५०० छुट्याउने गरेको बताएका छन् । यस आधारमा पेट्रोलियम ट्याक्सीको दैनिक खर्च करिब रु. २,००० पुग्छ ।
त्यसैगरी, वार्षिक रूपमा करिब रु. २५,००० बिमा खर्च लाग्ने र तीन वर्षको अवधिमा इन्जिन मर्मतका लागि करिब रु. १,००,००० खर्च हुने उल्लेख गरिएको छ ।
यी सबै आम्दानी र खर्चलाई समेटेर विश्लेषण गर्दा, तीन वर्षको अवधिमा एक जना पेट्रोलियम ट्याक्सी व्यवसायीले करिब रु. २० लाख १५ हजार खुद नाफा कमाउने देखिन्छ । लगानीको अनुपातमा हेर्दा यो करिब ७७ प्रतिशत नाफा हो ।
विधुतीय (ईभी) ट्याक्सीको तीन वर्षे अवस्था
विधुतीय ट्याक्सीको हकमा हाल काठमाडौँ उपत्यकामा टाटा ‘एक्सप्रेस–टी’ तथा ‘ईभी ईजी’ मोडेलका ट्याक्सीहरू प्रचलनमा छन् । बजार मूल्यलाई आधार मान्दा टाटाको ईभी ट्याक्सीको मूल्य करिब रु. ४७ लाख रहेको देखिन्छ । ईभी ट्याक्सी चालक तथा व्यवसायीहरूका अनुसार यस्ता ट्याक्सीबाट दैनिक औसत रु. ५,००० आम्दानी हुने गरेको छ ।
दैनिक खर्चतर्फ हेर्दा, खाना तथा खाजामा रु. ५००, बिजुली चार्जमा करिब रु. ५०० र मर्मत खर्चका लागि रु. ५०० छुट्याउने गरिएको छ । यस आधारमा ईभी ट्याक्सीको दैनिक खर्च करिब रु. १,५०० देखिन्छ ।
ईभी ट्याक्सीको बिमा खर्च वार्षिक रूपमा करिब रु. ६०,००० लाग्ने गरेको छ । त्यस्तै, तीन वर्षको अवधिमा ब्याट्री तथा मोटर फेर्नुपर्ने अवस्था आएमा रु. १२ लाखदेखि १५ लाखसम्म खर्च लाग्न सक्ने व्यवसायीहरू बताउँछन् । औसत रूपमा यो खर्च रु. १३ लाख ५० हजार मानिएको छ ।
यी सबै पक्षलाई आधार मान्दा, तीन वर्षको अवधिमा एक जना ईभी ट्याक्सी व्यवसायीले करिब रु. २३ लाख खुद नाफा गर्ने देखिन्छ । लगानीको अनुपातमा हेर्दा ईभी ट्याक्सीमा करिब ४९ प्रतिशत नाफा देखिन्छ ।
व्यवसायीका लागि कुन ट्याक्सी उपयुक्त ?
तीन वर्षे समग्र विश्लेषण गर्दा कुल नाफाको रकममा ईभी ट्याक्सी केही अगाडि देखिए पनि, प्रारम्भिक लगानीको अनुपातमा नाफा प्रतिशत हेर्दा पेट्रोलियम ट्याक्सी स्पष्ट रूपमा बढी फाइदाजनक देखिन्छ ।
कम पूँजी, छिटो लगानी फिर्ता हुने अवस्था र तुलनात्मक रूपमा कम जोखिमका कारण हालको अवस्थामा स्वरोजगार ट्याक्सी व्यवसायीका लागि पेट्रोलियम ट्याक्सी बढी सुरक्षित र व्यवहारिक विकल्प देखिन्छ ।
यद्यपि, वातावरण संरक्षण, भविष्यमा ब्याट्रीको मूल्य घट्ने सम्भावना तथा सरकारी सहुलियत र नीतिगत समर्थन बढेमा ईभी ट्याक्सी दीर्घकालीन रूपमा अझै फाइदाजनक व्यवसाय बन्न सक्ने सम्भावना भने कायम नै छ ।
0 Comments