गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा उत्पन्न आर्थिक विवादबारे धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो पीडा सार्वजनिक गर्दै सरकारलाई चाँडो निर्णय गर्न आग्रह गरेका छन्।
धुर्मुसले सार्वजनिक गरेको विवरण अनुसार फाउन्डेसनले भरतपुर महानगरपालिकालाई करिब ६० करोड रुपैयाँ बराबरको संरचना र सामग्री हस्तान्तरण गरिसकेको छ। तर रंगशाला निर्माणका क्रममा उधारोमा ल्याइएका सामग्रीको १८ करोड ४३ लाख रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको उनले बताएका छन्।
धुर्मुसका अनुसार विभिन्न निकायहरूले गरेको प्राविधिक मूल्यांकन र आर्थिक लेखापरीक्षणमा कुनै अनियमितता नदेखिएको निष्कर्ष आए पनि समस्या समाधानमा राज्य संयन्त्र सक्रिय नबनेको गुनासो छ।उनका शब्दमा–“राज्यले सम्पत्ति स्वीकार्छ, तर दायित्व स्वीकार्दैन। यही बिडम्बनाले हामीलाई वर्षौंदेखि थिचिरहेको छ।”
धुर्मुसले महायज्ञमा गरिएको कबोल, प्रदेश र संघीय सरकारका प्रतिबद्धता, तर निकासा नआएकाले निर्माण कार्य उधारोमै अघि बढाउनुपरेको स्मरण गराएका छन्। समितिहरू गठन भए, प्रतिवेदन बनाए, तर निर्णय कार्यान्वयन कहिल्यै नभएको उनीहरूको आरोप छ।
यसबीच, धुर्मुसले छोरीको दिर्घकालीन उपचारका लागि अमेरिका जान बाध्य भएका बताउँदै,“उपचारकै कारण हामी विदेशमा छौं, भागेका होइनौं,” भन्ने प्रतिक्रिया सार्वजनिक गरेका छन्।फाउन्डेसनले अझै पनि दायित्व समाधानका लागि राज्यसँग अपेक्षा राखेको छ।धुर्मुसको भनाइ छ—“समस्या टुंग्याइदिनुहोस्, हामी फेरि देश फर्केर कलाकारिता र सामाजिक काममै लाग्नेछौँ।”
यसबारे भरतपुर महानगरपालिका वा सम्बन्धित सरकारी निकायको प्रतिक्रिया भने आएको छैन।

0 Comments