Header Ads Widget

आज पुस १५ : तमु समुदायको विशेष नयाँ वर्ष ‘तमु ल्होछार’

काठमाडौँ ,१५ पुस २०८२ 

आज पुस १५, तमु (गुरुङ) समुदायको विशेष नयाँ वर्षको दिन हो, जसलाई तमु ल्होछारका रूपमा मनाइन्छ। यही दिनबाट तमु समुदायमा नयाँ ‘ल्हो’ (वर्ष) को शुभारम्भ हुने मान्यता रहेको छ।


यस अवसरमा थासों फाल्ने परम्परा विशेष रूपमा गरिन्छ। थासों फाल्नु भनेको ग्रहदशा फाल्ने धार्मिक विधि हो। खेगी (पुरोहित) उपलब्ध भए खेगीबाट, नभए घरका ज्येष्ठ सदस्यद्वारा थासों फाल्ने गरिन्छ। काँचो धागोमा बेसार लगाई पहेँलो बनाइन्छ। पुरुषका लागि नौ सरो र नौ गाँठो, महिलाका लागि सात सरो र सात गाँठो बाँधेर घाँटीमा बाँधिन्छ भने बालबालिकाको हकमा कम्मरमा बाँध्ने चलन छ। यसरी बाँधिने डोरोलाई ‘प्हैरु’ भनिन्छ।

ल्होछारको दिन छोरी–चेलीहरूलाई घर बोलाएर खान खुवाउने चलन पनि छ। पछिल्लो समय साना–साना समाज तथा समूह बनाएर चेलीबेटीलाई सामूहिक रूपमा निम्तो दिई नाचगानसहित ल्होछार मनाउने परम्परा बढ्दो छ।

ल्होछार पुस १५ मै मनाउन थाल्नुको मुख्य कारण चन्द्रमास अनुसार दिन तलमाथि पर्ने र सर्वसाधारणलाई सहज नहुने अवस्था हो। राणा श्री ३ चन्द्रशमशेरले चन्द्रवर्षलाई राजकीय पात्रो बनाउँदा तीन वर्षमा आउने अधिकमासका कारण विभिन्न समस्या देखिएपछि, सरकारी कामकाजलाई सहज बनाउन वि.सं. १९६१ देखि विक्रम संवत् लागू गरी वैशाख १ लाई नयाँ वर्ष र चैत ३१ लाई वर्ष समाप्त गर्ने व्यवस्था गरिएको थियो। यसै सन्दर्भमा पौष शुक्ल प्रतिपदामा मनाइँदै आएको तमु ल्होछारलाई सहजताका लागि पुस १५ मा स्थिर गरिएको हो।

पुस १५ केवल तमु समुदायको मात्र पर्व होइन। यसै दिन खस तथा ब्राह्मण समुदायमा कालो मासको फुलौरा र खुदो राखेर पकाइएको अनदी चामलको लट्टे भात खाने चलन छ। मगर समुदायमा भने खुवा खाने परम्परा रहेको छ। साथै, मगर युवायुवतीहरू यस दिन वनभोज जाने र त्यहीँबाट विवाह सम्बन्ध तय गर्ने चलन पनि रहेको पाइन्छ।

पश्चिम नेपालमा पुसे पन्ध्रको रात वर्षकै सबैभन्दा लामो हुने विश्वास गरिन्छ। रात कटाउन कठिन हुने भन्दै गाउँलेहरू भेला भई मुढा वा दाउरा बालेर आगो ताप्दै कथा हाल्ने, नाचगान गर्ने र रमाइलो गर्ने चलन छ। कतैकतै पन्ध्र हाते मुढो बालेर सामूहिक जमघट गरिन्छ। सबैले आ–आफ्नो घरबाट ल्याएका खानेकुरा बाँडीचुडी खाने गर्दछन्।

यो रातलाई कथा सुनाउने रातको रूपमा पनि लिइन्छ। कथा हाल्न सिपालु व्यक्तिले पौराणिक, लोककथा वा गाउँखाने कथा सुनाएर रात सहजै कटाउने गर्दछन्। पुसे पन्ध्रलाई सद्भाव, भाइचारा र मेलमिलापको पर्वका रूपमा पनि लिने गरिन्छ। यस रात केटाकेटीहरूलाई भेटघाट गर्ने छुटसमेत दिइन्छ।

पुस महिना किसानहरूका लागि केही फुर्सदिलो समय भएकाले यस्ता जमघट सहज हुने गर्थे। तर समयसँगै पुसे पन्ध्रको सामूहिक जमघट, आगो ताप्दै खानेकुरा बाँड्ने र कथा सुनाउने चलन घट्दै गएको देखिन्छ। कतिपय स्थानमा विकृति समेत भित्रिन थालेको छ।


Post a Comment

0 Comments